Article,
शहरमा बस्ने मान्छे यसैपनि जान्नेसुन्ने ।
Posted by Unknown
Published on Friday, October 11, 2013
नेताहरुको दौराफेर समातेर कुद्नेदेखि ठेलागाडामा ठेलिनेसम्म सबैको भाउ भकारोको डिलमा मौलाएको सागजस्तो ह्वात्तै बढ्ने गर्छ । अरुले तपाईं भन्नुभन्दा पहिले नै मपाईं भनेर उफ्रने उनीहरु दशैंमा घरगाउँ पुग्दा थामिनसक्नुको चुरीफुरी निकाल्छन् ।
हावा, पानी, खाना, नाना सबैतिरको मिसावट चाखेर हुर्केको मान्छे गाउँ फर्कंदा शान पनि बेग्लै हुन्छ । गाउँठाउँका स्वच्छ र स्वस्थ हावापानीका मान्छेलाई दशैंमा गाउँ फर्केको मिसावटी मान्छेले नानाभाँतीका फुँदा गाँसेर गर्ने थाङ्ने गफ सुन्दा पनि झटक नै मान्नुपर्ने, जतिसुकै झण्झट लागेपनि ।
गाउँमा पुगेर इष्टमित्र, नातेदार र छरछिमेकीलाई थाङ्ने गफ सुनाउनेहरुका लागि यसवर्ष टन्नै मरमसला छन् । दशैंभन्दा पहिले चुनाव लाग्यो । दशैंमा जुवातास र खानपीनभन्दा बढी चुनावी गफले जित्ने भएको छ । ताप्के नताते पनि बिँड तातिसक्यो । जनतालाई दशैं लाग्दा नेतालाई चुनाव लाग्यो ।
टिकट पाउन उनीहरु बुर्कुसी मार्दै राजधानी आए । तिहारमा भैलो खेले झैं ठूला नेताका घर र पार्टी कार्यालयमा धर्ना कसे । पार्टी छोड्छु भनेर घुर्की मात्र लगाएनन्, देख्लास् घन्दै छाडेर समेत हिँडे ।
मुन्टो बटारे, पाखुरा सुर्किए । यो नभए त्यो, त्यो नभए यो भन्ने पारामा छानीछानी यसको र उसकोमा कुदे । कति लिस्टमा परे । कति हिस्स बुढी हरिया दाँतको पारामा भुईंमा पछारिए ।
भुवन केसी र रेखा थापाले त यसअघि कहिल्यै नखेलेको फिल्ममा अभिनय गर्ने मौका पाए । फिल्ममा खेल्नुपर्ने मान्छेले फिल्म हेर्नेहरुसँग टिकट मागे । दिनेले पनि दिन्छु भने । टिकट पाइने भयो भनेर उनीहरु तीनहात बित्ता उफ्रिए ।
भुवनले जुँगामा ताउ लाए । रेखाले आफ्नो भाउ बढाइन् । तर लाष्टाँ टिकट कट भयो । फिलिम खेलेभन्दा पनि गज्जबको अभिनय गर्ने मौका मिल्यो । चलचित्र निर्माता र निर्देशकभन्दा कमका रहेनछन् प्रचण्ड र झलनाथ खनाल पनि ।
भुवन र रेखाभन्दा बढि जिल्लिए बैद्य बा । मंसिरको चुनाव हुनै नदिन बल गरेर बसेका वैद्य बालाई लागेको थियो, उम्मेद्वारी दर्ता गर्न कोही जाँदैनन् । जानेहरु पनि तर्सेर बाटैबाट फर्कन्छन् । तर बैद्य बा को मन्त्र काम लागेन । डाक्टरको जमानामा बैद्यको झारफुक काम छैन भन्ने लागेर उठ्ने जति सबैले टिकट लिए । बाजागाजा र लावालस्कर सहित उम्मेद्वारी दर्ता गर्नेको भीड देख्दा वैद्यबाले कतिपटक मुख मिठ्याए होला ?
दशैंमा घर जानेलाई भन्दा बढी मुश्किल भयो उम्मेद्वारको टिकट पाउन । ठूलो भीडमा घुर्की लगाएर उम्मेद्वारको टिकट पाएका र लामो लाइनमा घुस्रेर बसको टिकट पाएका दुवैथरी दशैंको बेला गाउँमा भेला हुँदैछन् । भोट दिने र भोट माग्नेहरुको यो भेलामा पक्कै दशैं ओझेलमा पर्छ । चुनावको चर्चा हुन्छ । मंसिर चार साँच्चै चार हुन्छ कि सार हुन्छ, सबैले आआफ्ना ढंगले विश्लेषण गर्छन् ।
‘वैद्य बा नआउँदासम्म चुनाव हुन्न, भैहालेमा पनि संविधान बन्दैन’ एउटाले भन्छ । ‘वैद्य को झारबुटीले केही नाप्दैन, चुनाव हुन्छ’ अर्कोले थप्छ ।
‘वैद्यहरु छुट्टिएपछि अब प्रचण्डका दिन गए, प्रचण्डसित त रेस्लरदेखि थप्पड हान्नेसम्म भिडेका छन्, विचराले तोरीको फूल देख्ने भए’ अर्को उफ्रन्छ ।
‘माधव नेपाल यसपाला पनि जिल्लिने हुन् कि’ अर्कोले आँकलन गर्छ । ओलीको चुड्का, देउवाको दाउ, सुशीलको सल्लाह, बाबुरामको बबाल, गच्छदारका गनगन, उपेन्द्रको उफ्राई, हथौडा बोक्ने बादल, ३३ दलको मादल....सबैथरीका गफ यहीबेला हुने भयो ।
खोरबाट निस्कँदा चुनाव जिते झैं गरी थामिनसक्नुको माला र जयजयकार गरेर दुनियाँ हँसाएका खुमबहादुर चुरिफुरी गफको अर्को मसला हो । खिलराज जिल्लाराम हुने हुन् कि अझै राज गरेर उँघिरहने हुन् भन्ने चोटिलो गफ त बाँकी नै छ ।
नागढुंगाको जाम र बाटो, फराकिला सडकका ठाम र माटो, लुगा बेच्ने साहु, प्याजको भाउ, कमाउने दाउ गफका विषय अरु पनि छन् । जूवातास, क्यारिम, लंगुरबुर्जा, बंगुर, बर्डफ्लु खोतल्दै जाँदा गफका चाङ थपिँदै जान्छ ।
अघिल्ला दुई दशैंमा बाबुराम भट्टराई प्रधानमन्त्री भएकाले देश हल्लिएको बेला थियो । झलनाथ खनालको कुर्सी हल्लाएर गल्र्यामगुर्लुम ढालेपछि भट्टराई सिंहदरबार छिरे ।
हल्लेको कुर्सी सम्हाल्न नभ्याउँदै उनले आफू मात्रै होइन देश नै हल्लाए । उनकै पार्टी हल्लियो । बस्ने बित्तिकै आफ्नै कुर्सी हल्लेको पत्तो नपाएर उनी अरुको आसन हल्लाउन दौडिए । पैसाको अचार बनाएर खान पल्केकाहरुलाई आचारसंहिता खुवाउन तम्से । महंगो गाडी घरमा थन्क्याएर सस्तो गाडी चढे । तर उनको ताउरमाउरले प्रचण्डको जुल्फी बाहेक अरु हल्लिएन ।
उबेला भट्राईले हल्लाए । अहिले रेग्मी र वैद्य बाले देश हल्लाएका छन् । खिलराज खिलजस्ता, डाक्टर यस्ता, वैद्य उस्ता, कोइराला र देउवा सस्ता, खनाल नेपाल ओली अहिले त कता कता भनेर गफ दिनुको मजा नै बेग्लै । त्यसैले दशैंमा मजाले गफ हाँक्नुहोस्, चुनाव जिते झैं गरी फर्कनुहोस् ।
मिलन तिमिल्सिना –
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





