Welcome Guest!
twitter facebook rss

,

इच्छाशक्ति गुमाएका राजनीतिक दल-नारायण वाग्ले


संविधानसभाको अवसानपछि राजनीतिक दलहरू प्रष्ट नीतिगत र कार्यगत दिशा पहिल्याउन असममर्थ भइरहेका बेला देशभित्र जवाफदेहिताको खडेरी झन् झन् पर्दैजाने लक्षण देखिएको छ। लोकतन्त्रका महत्वपूर्ण पूर्जाका रूपमा क्रियाशील हुनुपर्ने दलहरू निर्वाचित संयन्त्रका अभावमा बाहुबलको जगबाट अस्तित्व जोगाउने मनःस्थितितिर भासिँदै गएका छन्। नैतिकरूपमा कमजोर यो अराजनीतिक प्रवृत्तिले लोकतन्त्रलाई अझ संकुचित बनाउने खतरा बढेको छ। 
दलहरूको यो अराजनीतिक मनःस्थितिको पहिलो सिकार स्वतन्त्र प्रेस तथा कानुनी प्रक्रिया हुँदैछ भन्ने पछिल्लो उदाहरण नेकपा (एमाले)को युवा संगठनको राष्ट्रिय कार्यकर्ता भेला  हुनपुगेको छ। अध्यक्ष झलनाथ खनालले भव्यतासाथ उद्घाटन गरेको भेलाले गत सप्ताहान्त सार्वजनिक गरेका दुवै निर्णयले प्रेस र विधि, दुवैमा प्रहार गरेको छ। यसविरुद्ध भने आवाज मुखरित हुनसकेको छैन। लोकतन्त्रको प्राण भनेको विवेक र निडरता हो भन्ने हाम्रो परिवेशमा सत्य सिद्ध हुँदैगएको छ तर, यी दुवै मूल्यमा क्रमिक ह्रास आउंदै गरेको पनि प्रष्ट देखिएको छ। 

युवा संघका दुई निर्णयप्रति धेरैको ध्यानाकर्षण हुन नसक्नुको प्रमुख कारण मुलुकमा व्याप्त जवाफदेहीहीनता, आवधिक निर्वाचनको अनिश्चितता र लोकतन्त्र पनि यसैगरी चल्छ भन्ने जनमानसमा व्याप्त हुन थालेको उदासीनता हुन्। पत्रकारमाथि आक्रमण र अदालतको अवहेलना मुद्दामा मुछिएका जिल्ला नेताको केन्द्रीय सदस्यमा बढुवा गर्ने तथा सरकारले विशिष्ट व्यक्तिहरूलाई दिने भनिएका गाडी सडकबाट आफैँ ‘जफत' गर्ने घोषणा उसका ती दुई निर्णय हुन्। दुवै निर्णयको आन्तरिक प्रेरक तत्व वैध शासनमा पुग्न बाहुबल पनि प्रयोग गर्नुपर्छ भन्ने आन्तरिक निष्कर्ष हो। 

नागरिकका विराटनगरस्थित संवाददाता खिलानाथ ढकाललाई अघिल्लो वर्ष जेठ २२ गते राति ब्वाँसाले चल्ला टिपेझैं गरी एकलासमा पुर्‍याएर मरणासन्न हुने गरी आक्रमण गराएको अभियोग लागेका एमाले युवा संघका जिल्ला नेता पर्शुराम बस्नेत फरार भएका थिए। भाँच्चिएको नाकको उपचार गराएर ढकाल तीन सातापछि अस्पतालबाट डिस्चार्ज भए, काठमाडौंमै पनि उनलाई वरिष्ठ चिकित्सकहरूलाई देखाइयो। उनको नाक अहिले पनि बेलाबेलामा दुख्ने गर्छ तर आफूमाथि भएको अन्यायमा इन्साफ हुन नसक्दा उनले त्यसभन्दा धेरै पीडा र वेदना बेहोरिरहेका छन्। 

बस्नेत भने ११ महिनासम्म सजिलै फरार रहन सके। त्यतिबेला अध्यक्ष खनाल प्रधानमन्त्री थिए। पत्रकार महासंघमार्फत हामीले कानुनी कारबाहीका लागि हारगुहार गर्‍यौँ। महासंघ र अझ त्यसको मोरङ शाखाले लामै आन्दोलन गर्‍यो। यही प्रकरणमा पर्शुरामका केन्द्रीय नेता महेश बस्नेतले नागरिक दैनिक र सम्पादकका रूपमा मलाई दिएका धम्कीप्रति माउ राजनीतिक दल भने मौन रह्यो। अर्कातिर, त्यही दलले आफ्ना विचार समर्थक अधिवक्तालाई ठूलो संख्यामा अदालतमा उपस्थित गराउने गोप्य उर्दी जारी गरेर सामान्य तन्नेरी पत्रकारको सातो लिइरह्यो। 

तिनै बस्नेतलाई युवा संगठनले केन्द्रीय सदस्यमा बढुवा गरेर जिल्ला संवाददाताहरूको स्वतन्त्र समाचार संकलन र सम्प्रेषण गर्ने व्यावसायिक कर्तव्यमाथि निर्मम प्रहार गरेको छ। प्रेसको आन्दोलन थामिएको र अदालती कारवाही प्राथमिकतापूर्वक अगाडि नबढेको अवसर पारेर युवा संगठनले पर्शुरामलाई प्रोत्साहित गरेर आफ्ना कार्यकर्ताले जे गरे पनि संरक्षण पाउने सन्देश दिन खोजेको छ। यो कानुनी शासन र प्रेस स्वतन्त्रताका पक्षधरलाई दिइएको खुला चुनौती हो। 

विधिको शासनको अभावमा कमजोरहरूले कानुनको पनि संरक्षण पाउन नसक्ने तर बाहुबलीले सहजै राजनीतिक संरक्षण पाउने परिस्थिति झन् झन् बढ्दै गएको छ। करिब वर्ष दिनसम्म कानुनका पालकहरूको आँखा छलेर फरार हुन सकेकोमा स्याबासी दिइएका बस्नेतविरुद्ध अदालती कारवाही सकिएको छैन। उनीमाथि मुख्य अभियोग लागेको मोरङ जिल्ला र पुनरावेदन अदालतभित्र बन्दीमाथि हिंसात्मक आक्रमण र अदालतको अवेहलनामा मुद्दा जारी छ। ती मुद्दामा एक दिन पनि हिरासतमा बस्नु नपर्ने गरी चलाखीसाथ अदालतमा प्रस्तुत भएर तारेखमा रिहा भए पनि उनीसँग सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गतको छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वयान लिएको छ। 

त्यसैगरी राज्यले पूर्व विशिष्ट पदाधिकारीलाई दिएका गाडी सुविधाको आलोचना भइरहेको बेला त्यस्ता गाडी जफत गर्ने निर्णय युवा संगठनले गर्नुको कारण प्रष्टै छ - सडकमा अग्रसरता खोज्नु, उत्तेजना विस्तार गर्नु, वितृष्णा फैलाउनु। सरकारी निर्णयको राजनीतिक विरोध तर्क र तथ्यका आधारमा गर्ने हो। त्यसमा मात्र नैतिक बल हुन्छ र जनमत सिर्जना हुन्छ। सरकारबााहेक अरू कसैले राज्यको सम्पत्ति जफत गर्नु भनेको कानुन हातमा लिनु हो। त्यो मूढेबल हो, बाहुबल प्रदर्शन हो। त्यस्तो निर्णयप्रति एमालेको सम्मति हुनु उसको राजनीति इच्छाशक्ति हराउँदै गएको प्रमाण हो। 

राजनीतिक दलहरूले आफ्ना भ्रातृ संगठनलाई राजनीतिक चेतना अभिवृद्धि, दलका नीति र आदर्श प्रचार तथा संगठन विस्तारको अभियानमा लगाउने अपेक्षा गरिएको हुन्छ। त्यस्तै अभियानमा दल विशेषको राजनीतिक र नैतिक चरित्र तथा अनुहार प्रतिविम्बित हुन्छ। जनताको मत र विवेकको मूल्यांकन गर्न सक्ने दलले दीर्घकालीन लाभ लिन विश्वासिला उपाय अवलम्बन गर्छन्। यस घटनाबाट आगामी सरकारको नेतृत्व लिन बल गरिरहेको दलले आफ्नो युवा संगठनलाई जनतामा प्रष्ट विचार र कार्यनीति पुर्‍याउने माध्यम ठानेको देखिएन। राजनीतिक नेतृत्व त उल्टै युवाहरूलाई भ्रष्टीकरण गर्न सजिलो हथकन्डा सुझाउन पुगेको पो देखिएको छ। 

स्वतन्त्र विचारहरूको प्रवर्द्धन गर्न, कानुनी शासन सुनिश्चित गर्न र मुलुकका समस्याको सही पहिचानका लागि फराकिलो परिवेश सिर्जना गर्न युवा वर्गलाई प्रोत्साहित गर्ने विवेक दलहरूमा पलाउनु आवश्यक थियो। यहाँ त हाम्रो लोकतन्त्रका पूर्जाहरूले स्वतन्त्र प्रेस र कानुनी राज्य आफ्नो ध्येय नभएको चरितार्थ गर्न खोजेका छन्। राज्यको लोकतान्त्रिक चरित्र संकुचित पार्ने यस्तो बलमिच्याइँ बाहुबली राजनीति व्याप्त हुँदै जाने खतराको सूचक हो।
प्रतिक्रियाहरू (0)Add Comment

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide